CLI

सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने, सत्तारूढ दलबीच विधेयक ल्याउने सहमति

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । सत्तारूढ दलका शीर्ष नेताहरूको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भूमि सम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति जुटेको हो।

जसपा नेपालका नेता राजकिशोर यादवले अध्यादेशका केही प्रावधानहरू प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई संशोधन गर्न आवश्यक भएकाले विधेयकका रूपमा पुनः प्रस्तुत गर्ने सहमति भएको जानकारी दिएका छन् ।

गत पुस २६ गते सरकारले भूमिसम्बन्धीसहित पाँच वटा अध्यादेश स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। तीमध्ये चार वटा अध्यादेश पुस २९ गते जारी भए भने भूमि सम्बन्धी अध्यादेश माघ २ गते जारी भएको थियो।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको नाममा करिब अढाइ लाख रोपनी सरकारी जग्गा वितरण गर्ने योजना रहेको भन्दै राष्ट्रपति पौडेलले प्रारम्भमा अध्यादेश रोक्का गरेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोन वार्तापछि उक्त अध्यादेश जारी भएको थियो।

तर, सरकारलाई समर्थन गरिरहेको जसपा नेपालले अध्यादेशको विरोध गर्ने निर्णय गरेपछि सरकारले अध्यादेश कार्यान्वयनलाई होल्डमा राख्ने निर्णय लिएको थियो। अन्ततः, सबै पक्षहरूको सहमतिमा अध्यादेश फिर्ता लिई नयाँ विधेयक ल्याउने तयारी गरिएको छ।

Leave Your Comment

Related News