काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत रुपमा बसाइँसराइ गरी आउनेको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा उच्च रहेको बताएको छ । कार्यालयले मंगलबार नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन २०७८ सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
प्रतिवेदन अनुसार राष्ट्रिय जनगणना, २०७८ ले स्थायी आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत देखाएको छ । सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छोड्ने जनसङ्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिसहरू सरेको देखिएको छ । यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरेको देखिएको छ । आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् भने पुरुषको सो दर २०.६ प्रतिशत रहेको छ । तराईमा बसाइँ सर्ने संख्या सबैभन्दा बढी अर्थात् सन् १९७१ (वि.सं. २०२८) मा ४ लाख १० हजार ६४ जना बाट सन् २०२१ (वि.सं. २०७८) मा २० लाख ८४ हजार ५०५ जना सरेको देखिएको छ। यद्यपि, कुल जनसङ्ख्याको तुलनामा प्रतिशतमा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हिमाली क्षेत्रमा बसाइँ सरी जाने वि.सं. २०२८ मा ९ हजार ६९८ जना (२.२५) र २०७८ मा ७५ हजार ५४२ जना देखिएको छ । तर, त्यो क्षेत्रबाट अन्यत्र सरी जाने अत्यधिक देखिएकोले खुद बसाइँसराइ ५ लाख४३ हजार ९६६ जनाले ऋणात्मक देखिएको छ । यसरी हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक छ । पहाडी क्षेत्रमा वि.सं. २०२८ मा ६ प्रतिशतले बसाइँसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशत देखिएको छ जुन अङ्क वास्तवमा पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवनमा सरी जानेको सङ्ख्याले प्रभावित भएको हो ।
प्रदेश अनुसारको आन्तरिक बसाइँसराइको आयतनलाई अध्ययन गर्दा वि.सं. २०७८ मा कुल २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरेको देखिएको छ । यसमा महिला ११ लाख ५४ हजार ९०९ जना र पुरुष ९ लाख ८७ हजार ४५४ जनारहेका छन् । बागमती प्रदेशमा स्थायी रुपमा बसाइँसरी आउनेको सङ्ख्या ११ लाख ५० हजार ६२६ जनना छ भने गण्डकीमा खुद ३ लाख ४३ हजार ५० जना बराबर ऋणात्मक र कोशी प्रदेशमा पनि ३ लाख १८ हजार ७९६ जनाले गर्दा खुद बसाइँसराइ ऋणात्मक भएको देखिन्छ ।
बागमती प्रदेशमा बसाइँसराइ गर्नेको सङ्ख्या थपिएको तर गण्डकी र कोशी प्रदेशमा खुद बसाइँसराइ गर्नेको सङ्ख्या ऋणात्मक देखिएको प्रतिवेदनमा भनिएको छ । कुल बसाइँसराइ गर्ने व्यक्तिहरूको प्रथम छनौट बागमती प्रदेश नै देखिएको छ जहाँ ५७.६ प्रतिशत पुरुष र ५०.६ प्रतिशत महिला सरेर गएका देखिन्छन्। बागमतीबाहेक अन्य छ प्रदेशहरूमा बसाइँ सर्नेको संख्यामा महिलाहरू अधिकतम रहेका छन् । एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँ सर्नेमध्ये सबैभन्दा बढी गण्डकीमा देखिन्छन् जहाँबाट पुरुष २३.५ प्रतिशत र महिला २५.७ प्रतिशत गएका देखिन्छन्। कोशी प्रदेशबाट १७.६ प्रतिशत पुरुष र २० प्रतिशत महिला बसाइँ सरेर गएका देखिन्छन्।
प्रतिवेदनका अनुसार अन्तरजिल्ला बसाइँसराइको तथ्याङ्क विश्लेषण गर्दा २०७८ मा मूलथलोका २० प्रतिशतले अर्थात् स्थायी आन्तरिक बसाइँसराइ गरेको देखिएको छ । वि.सं. २०१८ मा यो मान ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ ओटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ ओटा जिल्लाहरूले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसङ्ख्या गुमाएको देखिन्छ । कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थिति छैन । बाह्र वटा जिल्लाहरू पर्सा, रौतहट, नवलपरासी (पूर्व), भक्तपुर, नवलपरासी (पश्चिम), ललितपुर, कञ्चनपुर, काठमाडौँ, कैलाली, रूपन्देही, बाँके र कपिलस्तुबाट दश प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाइँ सरी गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वि.सं. २०७८ को जनगणनाअनुसार काठमाडौँमा ५७.२ प्रतिशत बसाइँसराइ गरी आएका छन् । भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत छन् जुन स्थायी बसाईसराइको सबैभन्दा उच्च दर हो । यी तीन जिल्लाबाहेक १६ जिल्लाहरूमा खुद बसाइँसराइदर धनात्मक देखिन्छ । बसाइँसराइदर ऋणात्मक देखिन्छ अर्थात् बसाइँ सरी आउनेभन्दा जाने नै अधिक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी बसाइँसराइको दर काठमाडौं उपत्यकामा अत्याधिक देखिन्छ भने पहाडबाट अन्यत्र जानेको संख्या उच्च रहेको छ ।

