काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रबर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रविधि, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो ।
उनले थपे,’नेपाल पर्यटन रणनीतिक योजना (२०१६/२०२५) र आईटीबी बर्लिन मन्त्रीस्तरीय बैठक २०२५ मा नेपालको सहभागितालाई स्मरण गर्दै नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको छ । यसका लागि हामी यूएन टुरिजम्लाई सहयोगका लागि आग्रह गर्दछौं ।’
द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्रसंघ पर्यटनका एसिया-प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको पहिलो पटक संयुक्त राष्ट्रसंघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपाल-संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपाल अब राष्ट्रसंघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवर्द्धन, र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसंघ पर्यटनको सहयोग आवश्यक रहेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको-टुरिजम, र ग्रामीण पर्यटनका सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पुर्याउन संयुक्त परियोजनाहरू आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघ पर्यटनका निर्देशक हुआङले नेपाललाई आगामी राष्ट्रसंघीय पर्यटन कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेश गरेमा थप सहयोग गर्न तयार रहेको बताए । यस बैठकले नेपाल-राष्ट्रसंघी पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
यसअघि नेपाल पर्यटन बोर्डले स्पेनको म्याड्रिडमा स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए ।
कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल- स्पेनबीचको लामो समयदेखि रहिआएको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकहरूको बढ्दो संख्याबारे चर्चा गरेका थिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको प्रकृति, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, र आतिथ्य सेवा सम्बन्धी प्रस्तुत गर्नुका साथै स्पेनी पर्यटकहरूका लागि नेपाल प्रमुख गन्तव्य हुनसक्ने विषयमा जानकारी दिएका हुन् ।