न्यून भिजिबिलिटीले कम्तिमा आधा दर्जन विमान डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरराष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएका छन् ।

बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एअरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । जजिरा एअर, एअर इन्डिया र फ्लाइ दुवईका विमान डाइभर्ट भएको उनले बताए ।

जजिरा एअरवेज र एअर इन्डियाका दुई विमान भारतको बनारस डाइभर्ट भए भने फ्लाइ दुवईको विमान भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा डाइभर्ट भएर अवतरण भएको प्रवक्ता शेर्पाले बताए । अन्य उडान भने केहीबेरको होल्डपछि अवतरण भएको जनाइएको छ ।

आज बिहान एक हजार ६०० मिटर भिजिबिलिटी थियो, एअरलाइन्सको आवश्यक मापदण्ड अनुरुप अवतरणका लागि भिजिबिलिटी नपुगेकाले विमान डाइभर्ट भएका थिए उनले भने ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र सो मौसमी प्रणालीको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार