काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार शेयर बजारमा विशाल बजार कम्पनी २ खर्ब १३ अर्ब १७ करोड बजार पुँजीकरण रकम सहित अग्रस्थानमा बसेको छ । नेप्सेका अनुसार फागुन महिनाको लागि विशाल बजार कम्पनीको बजार पुँजीकरण रकम उक्त मात्रामा पुगेको हो ।
विशाल बजार पछि क्रमशः नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार प्राधिकरण, नबिल बैंक, सिटिजन्स बैंक लगायतका संस्थाहरु रहेको नेप्सेले जनाएको छ । समिक्षा अवधिमा नेपाल रिइन्स्योरेन्स १ खर्ब ७५ अर्ब ५३ करोड बजार पुँजीकरण रकम सहित दोस्रो स्थानमा बस्दा दुरसञ्चार प्राधिकरण १ खर्ब ६४ अर्ब ७० करोड सहित बजार पुँजीकरणको तेस्रो स्थानमा बसेको छ । साथै फागुनमा नबिल बैंक १ खर्ब ३२ अर्ब ८४ करावेड, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट १ खर्ब २९ अर्ब ५० करोड, हिमालयन रिइन्स्योरेन्सको १ खर्ब ७ अर्ब ३३ करोड र ग्लोबल आइएमई बैंकको ८५ अर्ब ९८ करोड बजार पुँजीकरण रकम पुगेको छ ।
नेप्सेका अनुसार आठ महिनामा एभरेष्ट बैंकको ८० अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७५ अर्ब ८ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ७० अर्ब ९६ करोड बजार पुँजीकरण रकम पुगेको छ ।
बजार पुँजीकरणमा वृद्धि हुनका लागि शेयर संख्या वा मूल्य बढ्न पर्ने हुन्छ । किनकि बजारमा सूचीकृत कम्पनीको शेयरहरुलाई हालको मूल्यले गुणन गरी कुल बजार पुँजीकरण रकम निकालिन्छ , त्यसैले गर्दा विशाल बजार, नेपाल रिइन्स्योरेन्स, दुरसञ्चार, नबिल बैंक लगायतका संस्थाको हकमा भने शेयर संख्या र मूल्य दुवैमा वृद्धिदर रहेको पाईन्छ । शेयर बजारमा यी संस्थाहरु माथि लगानी गरेर फाइदा लिन सकिने विश्वास शेयर लगानीकर्ताहरुमा रहेको पाईन्छ जसले गर्दा माथिका संस्थाहरु बजार पुँजीकरणको हिसाबले अधिकांश जसो समयमा अग्र स्थानमा बसेको पाइन्छ ।
नेप्सेमा सूचीकृति विशाल बजार शेयर बजारको सबैभन्दा ठूलो कम्पनी बने पनि यसले आर्थिक तथा वित्तीय अनुशासन पालना नगरेको आरोप लागेको पाईन्छ । लामो समय देखि विशाल बजारले साधारणसभा, लेखापरिक्षण गरेको छैन भने वित्तीय विवरण समेत सार्वजनिक गरेको पाईदैन ।