काठमाडौं । गत चैत १५ गते राजावादी समूहहरूले आयोजना गरेको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट हुँदा ८० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
भाटभटेनी सुपरमार्केटका अनुसार आन्दोलनका क्रममा भएका तोडफोड र लुटपाटबाट कुल ८० लाख ३३ हजार १९३ रुपैयाँ बराबरको क्षति पुगेको छ।
उक्त घटनामा सुपरमार्केको स्टक (सामान) मा ६४ लाख ८८ हजार ३३८ रुपैयाँको क्षति पुगेको छ । यस्तैमा भवनमा ११ लाख ८५ हजार ८८५ रुपैयाँ र
फ्रिज तथा स्वकेसमा २ लाख ६५ हजार रुपैयाँको क्षति पुगेको छ ।
आन्दोनलकारीले बिल काउन्टरबाट नगद ९४ हजार रुपैयाँ लुटेको भाटभटेनीले जानकारी दिएको छ ।
भाटभटेनीमा लुटपाट तथा तोडफोड गर्ने व्यक्तिहरुलाई प्रहरीले सीसी क्यामरा र फोटोका आधारमा पक्राउ गरिरहेको छ ।
हालसम्म कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्नुका साथै लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका-१६ प्रेम कुमार महतो, भारतको बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका-६ की सुशीला कुमाल, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका-३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका-७ लाम्पन्टारकी चित्र माया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका-१६ की सुस्मिता बराल रहेका छन्।