हिमालयद्वारा ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले चैत १९ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वर्ल्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने छ, जुन एअरलाइन्स्को लागि एक महत्वपूर्ण कोसेढुङ्गा रहनेछ ।

नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पुर्याउन समर्पित, हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको छ । ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एअरलाइन्स्को प्रतिबद्धतालाई जोड दिन्छ ।

हिमालय एअरलाइन्स्ले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ । ऐतिहासिक ल्हासा–पोखरा उडान (H9 731) ले ल्हासा गोङ्गर विमानस्थलबाट आज चीनको स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १४ः३९ बजे उडान भयो र एक घण्टा चौतीस मिनेटको उडान समय पछि कुल १०७ यात्रुहरूसहित आजै नेपाली स्थानीय समयअनुसार १३ः५६मा पोखरा अवतरण गर्यो । यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (H9 732) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ ।

नयाँ ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ ।

हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।

यस ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए । यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, गण्डकी प्रदेशका माननीय उद्योग र पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्र लाल कर्णलगायत अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङ, उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठ तथा हिमालय एअरलाइन्स्का अधिकारीहरूले स्वागत गरेका थिए ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पनि कार्यक्रममा उपस्थिति जनाएका थिए ।

ऐतिहासिक ल्हासा–पोखरा उडानमा अटुट सहयोगको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरू, चिनियाँ दूतावास र सबै सरोकारवालाहरूलाई हार्दिक धन्यवाद दिँदै, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ल्हासा बीचको पहिलो निर्धारित अन्तर्राष्ट्रिय उडान सुरु गर्न पाउँदा खुशी र गर्व व्यक्त गरे । “यो ऐतिहासिक उपलब्धि हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि एक ठुलो सफलता हो, जसले पोखरालाई प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवद्र्धन गर्दछ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्वपूर्ण पहल पनि हो । सुरक्षित र प्रभावकारी हवाई सेवाप्रति प्रतिबद्ध रहँदै हिमालय एअरलाइन्स् यस उडानको दीर्घकालीन सफलताका लागि निरन्तर सहयोगको अपिल गर्दछ । संयुक्त प्रयासमार्फत् नै हामी अझ धेरै ऐतिहासिक उपलब्धिहरू हासिल गर्न सक्छौं ।”

सो ऐतिहासिक अवसरमा आफ्नो मन्तव्य राख्दै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा कनेक्टीभिटीको भूमिकामा जोड दिए । उनले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्स्को प्रशंसा गर्दै नियमित उडानहरू कायम राख्ने चुनौतीहरूलाई स्वीकार गरे । “ चुनौतीहरू बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ । गण्डकी सरकार पोखरामा हिमालय एअरलाइन्स्को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ । ’’

सोही अवसरमा माननीय संस्कृति, पर्यटन र नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालका सबै सरोकारवालाहरूलाई हिमालय एअरलाइन्स्लाई सहयोग गर्न अनुरोध गर्दै भने, “हिमालय एअरलाइन्स्ले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको छ । म यस सफलता र आगामी दिनहरूमा एअरलाइन्स्को उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा मेरो शुभकामना व्यक्त गर्दछु ।”

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले अवसरलाई सम्बोधन गर्दै उल्लेख गर्दै भने, “म पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिन्छु । तपाईँहरूका लागि निर्धारित अन्तर्राष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको छ । हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा उडानले नेपाल–चीन सम्बन्धलाई सुदृढ गर्ने चीनको दृढ प्रतिबद्धतालाई जनाउँछ । मलाई आशा छ कि पोखराले थप अन्तर्राष्ट्रिय उडानहरू र थप अन्तर्राष्ट्रिय गन्तव्यहरू प्राप्त गर्नेछ ।’’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो मन्तव्यमा पोखराबाट पहिलो निर्धारित सेड्युल उडान सेवा र १४ औँ अन्तर्राष्ट्रिय उडान प्रदान गरेकोमा हिमालय एयरलाइन्स्प्रति धन्यवाद व्यक्त गरे । ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत गर्ने बताउँदै उनले थपे, “ हामी स्थानीय तहबाट हिमालयलाई पोखराबाट आफ्नो सेवा जारी राख्न सहयोग गर्न तत्पर छौँ ।”

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्र लाल कर्णले हिमालय एअरलाइन्स्ले सुरु गरेको ऐतिहासिक उडानप्रति उत्साह व्यक्त गरे । “ हिमालय एअरलाइन्स्लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई छ । एयरपोर्ट पहिले नै उद्घाटन भए तापनि पहिलो निर्धारित उडान सुरु गर्न दुई वर्ष लाग्यो । म हिमालय एअरलाइन्स्लाई नयाँ क्षेत्र, गन्तव्य र बजारको रूपमा पोखरा प्राप्त गरेकोमा बधाई दिन्छु । साथै, म पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग तपाईँहरूले हिमालय एअरलाइन्स्लाई यस पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोग पु¥याउनु हुन अनुरोध गर्दछु ।”

हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु भएकोे रुटप्रति उत्साह व्यक्त गर्दै भने, “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रागत अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।”

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार