यूएईले दियो १ सय ६६ नेपालीलाई आममाफी

काठमाडौं । यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका एकसय ६६ जना नेपालीलाई आममाफी दिएको छ ।

इदको अवसरमा यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरूलाई आममाफी दिएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘रमजानको पवित्र महिना र इदको अवसरमा १६६ नेपाली कैदीहरूलाई उदारतापूर्वक आममाफी प्रदान गरेकोमा संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स बीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा यस प्रकारको क्षमादानलाई उच्च मूल्याङ्कन गर्ने उल्लेख गरेको छ ।

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधमा आममाफीको निर्णय गरेको हो । आममाफी पाउने नेपालीको विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन । यसअघि कतार सरकारले पनि विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार