काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको माघसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ७६ अर्ब ८६ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.३० प्रतिशत अर्थात् २८ अर्ब ११ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा व्यवसाय कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब ३२ अर्ब ९९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ अर्ब ६३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप ३२ अर्ब ६० करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ११ अर्ब २६ करोड ५० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ४९ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ९ अर्ब ७६ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो । जग्गा खरिद सँगै घर निर्माण पनि विस्तारै बढ्दै जाँदा घरजग्गा व्यवसाय कर्जाको माग बढेको विज्ञहरु बताउछन् । सरकारले जग्गा वर्गीकरण नीति ल्याए सँगै जग्गाको खरिदबिक्री प्रभावित बने पनि पछिल्लो समय भने घरजग्गाको माग बढ्दै जाँदा कर्जाको मागमा समेत वृद्धि भएको विज्ञहरुको भनाई छ । मानिसलाई घर नभई नहुने वस्तु हो भने घर बनाउनका लागि जग्गा नभई हुदैन त्यसैले गर्दा बैंक तथा वित्तीय संस्थासँग कर्जा माग गर्दै यसमा लगानी गर्नेको संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।