काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय समग्रमा कर्जा वृद्धिदर राम्रो रहेको बताएको छ । क्षेत्रगत आधारमा सुनचाँदी, मार्जिन प्रकृति र रियल स्टेट क्षेत्रमा कर्जा विस्तार भएको छ । अर्थतन्त्रका विभिन्न सबै क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी नभए पनि समग्रमा भने कर्जा प्रवाह धनात्मक रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पर्याप्त नभए पनि वार्षिक कर्जा वृद्धि भने ६.९० प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले माघसम्म विभिन्न क्षेत्रमा कर्जा प्रवाह ५४ खर्ब ३९ अर्ब १२ करोड ३७ लाख बराबर पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ खर्ब ५१ अर्ब २ करोड ७४ लाखले बढी हो । गत आवको माघसम्म बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न क्षेत्रमा ५० खर्ब ८८ अर्ब ९ करोड ६३ लाख बराबर कर्जा प्रवाह भएको थियो ।
सुनचाँदी कर्जा
राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६९ अर्ब २८ करोड ६० लाख रुपैयाँ कर्जा सुनचाँदी धितो राखेर प्रवाह गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ बढी हो । २०८० माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्रै २०८१ माघसम्म सुनचाँदी धितोमा ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनामा १५ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बढी हो । २०८० माघसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ४८ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि २०८१ माघसम्म सुनचाँदी धितोमा ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनामा ६१ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा ३ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वित्त कम्पनीहरूले सुनचाँदी धितोमा २०८१ माघसम्म १ अर्ब ४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनामा ४० लाख रुपैयाँ कम हो । गत वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले १ अर्ब ४ करोड ७० लाख रुपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका थिए ।
शेयर धित्तो कर्जा
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जास्वरुप १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३५.१५ प्रतिशत अर्थात् २९ अर्ब ९३ करोडले शेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा वाप्त ८५ अर्ब १७ करोड रुपैयाँ वितरण गरेका थिए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको शेयर किन्ने प्रयोजनका लागि शेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो । मार्जिन प्रकृतिका शेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको वृद्धिदर रहेको छ । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकले ९३ अर्ब १२ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २६ अर्ब ५३ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ६६ अर्ब ५९ करोड रुपैयाँ शेयर धितो प्रवाह गरेको थियो ।
औद्योगिक क्षेत्र, घरजग्गा लगायतका क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो कर्जा प्रवाह बढाएको बैंकरहरु बताउछन् । कर्जा प्रवाह गर्नु वाध्यात्मक अवस्था भएको कारण शेयर धितो कर्जा प्रवाह बढेको उनीहरु बताउछन् । हाल बैंक तथा वित्तीय संस्थासँग निक्षेप संकलन ६७ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह रकम ५४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको माघसम्म विकास बैंकले १७ अर्ब ८९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब ९९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको माघसम्म विकास बैंकले १४ अर्ब ९० करोड रुपैयाँ शेयर कितो कर्जा प्रवाह गरेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म वित्त कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१ करोड ४० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।
मौद्रिक नीतिले शेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको सीमा खारेज गरी व्यक्तिगततर्फको सीमालाई निरन्तरता दिएको थियो जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जामा वृद्धिदर भएको बैंकरहरु बताउछन् ।
रियल स्टेट
राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको माघसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ७६ अर्ब ८६ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.३० प्रतिशत अर्थात् २८ अर्ब ११ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा व्यवसाय कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब ३२ अर्ब ९९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ अर्ब ६३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप ३२ अर्ब ६० करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ११ अर्ब २६ करोड ५० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ४९ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ९ अर्ब ७६ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो । जग्गा खरिद सँगै घर निर्माण पनि विस्तारै बढ्दै जाँदा घरजग्गा व्यवसाय कर्जाको माग बढेको विज्ञहरु बताउछन् । सरकारले जग्गा वर्गीकरण नीति ल्याए सँगै जग्गाको खरिदबिक्री प्रभावित बने पनि पछिल्लो समय भने घरजग्गाको माग बढ्दै जाँदा कर्जाको मागमा समेत वृद्धि भएको विज्ञहरुको भनाई छ । मानिसलाई घर नभई नहुने वस्तु हो भने घर बनाउनका लागि जग्गा नभई हुदैन त्यसैले गर्दा बैंक तथा वित्तीय संस्थासँग कर्जा माग गर्दै यसमा लगानी गर्नेको संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।