पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षक तथा संघीय निजामती सेवासम्बन्धी ऐन चाँडै संसदबाट पारित हुने विश्वास व्यक्त गर्दै सबैलाई आश्वस्त रहन आग्रह गरेका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले करिब एक दशकदेखि प्रक्रियामा रोकिएका तीनवटा महत्वपूर्ण विधेयक संसदमा प्रस्तुत गर्न लागिएको जानकारी दिए। उनका अनुसार ती विधेयकहरूमाथि करिब १,८०० उपदफाहरूमा दफावार छलफल भइसकेको छ।
मन्त्री गुप्ताले आगामी १२ गतेपछि प्रारम्भ हुने संसद बैठकमा ती विधेयकहरू प्रस्तुत भई बहुमतका साथ पारित हुने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा उनले नेपाल प्रहरीसम्बन्धी विधेयक पनि संसदमा प्रस्तुत हुने जानकारी दिए।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुप्ताले पछिल्लो समय विभिन्न प्रतिक्रियावादी शक्तिहरू पुनः सक्रिय हुन थालेको टिप्पणी गर्दै जनताले ती तत्वहरूलाई समयमै नियन्त्रणमा ल्याउने चेतावनी दिए। उनले देशमा गलत प्रचारप्रसार भइरहेकाले जनतालाई सचेत रहन आग्रह गरे।
पूर्वराजाको प्रसंग उठाउँदै मन्त्री गुप्ताले प्रश्न गरे, “जो राजाले आफ्नै परिवार जोगाउन सकेनन्, उनले देश कसरी जोगाउने?” उनले गणतन्त्रको कुनै विकल्प नरहेको प्रष्ट पारे।
राजतन्त्र अन्त्य भएको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै गुप्ताले भने, “सामन्तवादको भरमा टिकेको राजतन्त्रलाई जनताले हटाएर लोकतन्त्र स्थापना गरेका हुन्। अहिले राजाको नाममा सडकमा उत्रिने नेताहरू लोकतन्त्रविरोधी हुन्।”
राजदरबार हत्याकाण्डपछि राजकुमार दीपेन्द्रको निधनसँगै नेपालमा राजवंशीय शासन व्यवस्थाको औपचारिक अन्त्य भएको स्मरण गराउँदै मन्त्री गुप्ताले थपे, “कुशको राजा बोकेर हिँड्नु नैतिकतासम्मत होइन।”