काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि आज काठमाडौँको बल्खुमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा कार्यक्रम गर्ने तयारी राप्रपाको छ । राप्रपाले भृकुटीमण्डपमा प्रदर्शनको तयारी गरे पनि प्रशासनले अनुमति नदिँदा बल्खुमा कार्यक्रम गर्न लागेको हो ।
राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी प्रहरीले सवारीसाधन व्यवस्थापन गर्न विभिन्न ठाउँमा डाइभर्सन गरेको छ । प्रहरीका अनुसार आज खसीबजार – मकालु – कलङ्की चोक– बाफल, बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु, कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना, त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला र चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वरमा सवारी डाइभर्सन गरिएको छ । आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू पनि थपिने सूचनामा उल्लेख छ ।
कार्यक्रममा सहभागी हुन तथा सो स्थानमा कामको सिलसिलामा पुग्ने सर्वसाधारणलाई प्रहरीले पार्किङस्थल पनि तोकेको छ । टियू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवै तर्फ), चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला – बाफल सडक खण्डमा एक लाइन पार्किङस्थल तोकिएको छ ।
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा पनि काठमाडौँका विभिन्न ठाउँमा आज कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । यस्तै माइतीघर-नयाँबानेश्वर क्षेत्रमा शिक्षक आन्दोलन र शान्तिवाटिकामा लघुवित्त पीडितको आन्दोलन कार्यक्रम छ । सोअनुसार पनि डाइभर्सन मिलाइने प्रहरीले जनाएको छ ।