काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा म्याचिङ कारोबार भएसँगै कम्पनीको शेयर पहिलो पटक नेप्सेमा कारोबार भएको हो।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३०२ रुपैयाँ ३ पैसामा भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा ३०२ रुपैयाँ ३ पैसाबाट कारोबार सुरु भएको हो।
गत बिहीबार नेप्सेमा कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो। कम्पनीको शेयर (एनएमआईसी) सिम्बलबाट कारोबार भएको छ।
सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको म्याचिङ कारोबार नभएपछि हिजो कारोबार हुन सकेको थिएन । अब आजबाट कम्पनीको नियमित कारोबार हुने छ। बिहान बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए ।