काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन्। वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।