काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निराशाको खेती गर्नेहरुलाई जवाफ दिने बेला आएको बताएका छन् । नाडा अटो मोवाईल्स डीलर एशोसिएसन नाडाले मंगलबार ललितपुरमा गरेको नाडा अटो डाइलगको समापन समारोहमा उनले पूर्वाधार विकास, रोजगारी अभिवृद्धी, स्वरोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेख्य प्रगती भए पनि केहि भएन र हुँदैन भनेर निराशा छर्ने प्रयास हुने गरेको बताए ।
पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युतीकरण लगायतका क्षेत्रमा नेपालमा फड्को मारि रहेको पनि उनको भनाई छ । अटोमोवाईल्स समेत नेपालको आर्थिक विकासको सहयोगी रहेको भन्दै मन्त्री दाहालले अटोमोवाईल्सको उपयोगबाट कृषि उपजको बजारीकरण, स्वरोजगारी अभिवृद्धी तथा गाउँ र सहर जोडिने कार्य प्रभावकारी हुँदै गएको बताए । वातावरणमैत्री सवारीसाधन र जनमूखी सडक सञ्जाललाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै उनले सरकारले समेत यि विषयलाई प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदेश सरकारको समेत समन्वयमा यातायात क्षेत्र व्यवस्थित पार्ने काम भई रहेको बताए। संविधानले दिएको यातायात व्यवस्थापन सम्वन्धि अधिकारको उपयोग प्रदेश तहबाट हुन थाले पछि नीतिगत र समन्वयात्मक कार्य संघीय सरकार मार्फत हुने बताए ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले भने, ‘सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन, देश समृद्धितर्फ जान सक्दैन,’ उनले मोबिलिटीले देशका हरेक क्षेत्रलाई जोड्ने भन्दै यसको महत्त्व बुझ्न आग्रह गरे।
अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै होइन, यो क्षेत्र रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग पनि गहिरो रूपमा जोडिएको उनले बताए।
‘हामी आफैंलाई अब केबल ट्रेडर नभई उद्योगीका रूपमा देख्न चाहन्छौं,’ उनले भने।
अध्यक्ष चौधरीले विद्युतीय सवारी (इभी) किन्न दिइने कर्जा सीमा घटाइएकोमा असन्तुष्टि व्यक्त गरे। नेपाल राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा लोन दिने सीमा अर्थात् ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले विद्युतीय सवारीसाधन (इभी) कर्जामा राज्यले स्पष्ट नीति नल्याए आगामी दिनमा बैंकहरूमा समस्या आउने बताएका छन्।
‘नाडा अटो डाइलग’मा बोल्दै कोइरालाले करिब १ खर्ब २९ अर्ब रूपैयाँ बराबरको कर्जा सवारी क्षेत्रमा गएको उल्लेख गरे।
‘यो ठूलो रकम हो, जुन सम्पूर्ण बैंकिङ प्रणालीबाट इभी लगायत सवारी क्षेत्रमा गएको हो,’ उनले भने, ‘यदि हामीले दीर्घकालीन सोचसहित नीति निर्माण गर्न सकेनौं भने जोखिम बढ्दै जान्छ।’
उनले इभी कसैले पनि जथाभावी नेपाल ल्याउन नपाउने स्पष्ट नीति आवश्यक भएको बताए। कार्यक्रममा विभिन्न चरणमा विभिन्न विषयमा अन्तरक्रिया समेत भएको कार्यक्रम संयोजक यमुना श्रेष्ठले बताईन्।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीका अनुसार कार्यक्रममा अटोमोवाईल्स क्षेत्रका विज्ञ एवम् सरकारी अधिकारीहरुले यातायात एवम् अटोमोवाईल्सका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

