एरो फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्न नियुक्त गर्‍यो विक्री प्रबन्धक

काठमाडौं । एरो फर्मास्युटिकल्सले प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। प्रति शेयर अङ्कित मूल्य रु एक सय दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो।

सर्वसाधारणमा शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यही चैत्र २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ७५ करोड रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाडाैं महानगरपालिका वडा नं. ३ वसुन्धरामा रहेको छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ ।

यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा खातीप्राप्त व्यक्तित्वहरूको लगानी रहेको छ । विभिन्न क्षेत्रका लब्धप्रतिष्ठसित व्यक्तिहरूद्वारा प्रवर्द्धित यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१/०७२ मा प्रालिको रुपमा स्थापना भई आर्थिक वर्ष २०८०/०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो ।

विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका औषधिहरू बजारमा छन् । कम्पनीले विशेष रुपमा उच्च रक्तचाप-मधुमेहमा प्रयोग हुने, यान्टिबायोटिक लगायतका गुणस्तरीय औषधिहरूको उत्पादन गर्दछ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरूको पनि उत्पादन सुरु गरेको छ ।

कम्पनीबाट उत्पादित औषधिले नेपालको बजारमा उल्लेख्य हिस्सा ओगट्न सफल भएको छ भने निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार प्रमाणपत्र हासिल गरेको छ । फर्मास्यूटिकल्स कम्पनीहरूमध्ये प्रतिष्ठित कम्पनीको रुपमा स्थापित यस कम्पनीले शेयरको सार्वजनिक निष्कासन पश्चात् उद्योगको क्षमता अभिवृद्धि गरी बजारको माग बमोजिम थप औषधिहरू उत्पादन गर्ने लक्ष्य लिएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार