काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ र काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य २८ दिनको अवरोधपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। स्थानीयको विरोधका कारण गत चैत ३ गतेदेखि रोकिएको काम नेपाल प्रहरीको सुरक्षा व्यवस्थामा पुनः थालिएको हो।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, सुरुङमार्गको चन्द्रागिरी नगरपालिका–२ टुटीपाखा क्षेत्रमा खानेपानी, रोजगारी तथा क्षतिपूर्तिको माग गर्दै स्थानीयले विरोध जनाउँदै आएका छन्। आइतबार पनि सुरुङमुखमा नाराबाजी गरिएको पन्थीले जानकारी दिए।
स्थानीयवासीले परियोजनामार्फत सञ्चालन भइरहेका वा सुरु भइसकेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, र आवश्यक परे सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग राख्दै आएका छन्।
उक्त सुरुङमार्ग २०८२ असोज भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित अन्तिम चरणको काम भइरहेको छ। हाल सुरुङभित्र लाइटिङ, भेन्टिलेसन प्रणाली जडान र कंक्रिट सडक निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।
मुलुकमा पहिलोपटक रणनीतिक महत्वका सडकलाई सुरुङमार्गसित जोड्न २०७६ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओली र जापानी राजदूत मासासी साइगोले काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म २.६८ किलोमिटर सुरुङ मार्गको संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
४१ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढाइए पनि कोभिड–१९ महामारी, स्थानीयको अवरोध, मुआब्जा लगायतका कारण ढिलाई हुँदै आइरहेको छ ।