९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९,२ प्रतिशत मात्रै देखिएको छ ।

चालू आवमा सरकारले पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै हो ।

पुँजीगत खर्चलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिने गरिन्छ । पुँजीगत खर्च मार्फत आर्थिक उन्नती हासिल हुने र अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ । तर, समीक्षा अवधिमा भएको खर्चले विकास निर्माणका काम आवश्यकताअनुसार नभएको संकेत गर्ने जानकारहरू बताउँछन् । चालु आवको सकिन तीन महिनामा मात्र बाँकी छ । यस्तोमा आगामी दिनमा बजेट सक्ने नाममा जथाभावी असन्तुलित रूपमा खर्च हुने जोखिम अधिक छ । विगतमा पनि सरकारले आवको अन्तिम समयमा धेरै पुँजीगत खर्च गर्ने गरेको छ ।

कुल बजेट खर्च ५३.६७ प्रतिशत

सरकारले चालु आवको चैत मसान्तसम्म विनियोजित बजेटको ५३.६७ प्रतिशत खर्च गरेको छ । यस अवधिमा चालु बजेट सबैभन्दा धेरै खर्च भएको छ । चालु खर्चका लागि ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । हालसम्म ६ खर्ब ७८ अर्ब ६ करोड ९२ लाख रुपैयाँ चालु बजेट खर्च भएको छ । यो विनियोजित बजेटको ५९.४५ प्रतिशत हो ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ पनि सरकारले ५९.२३ प्रतिशत खर्च गरेको छ । चालु आवको चैतमसान्तसम्म २ खर्ब १७ अर्ब ५३ करोड १ लाख रुपैयाँ वित्तीय व्यवस्थापन तर्फ खर्च भएको छ । वित्तीय व्यवस्थापनका लागि सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार