काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा पुनः सुरु गरेको छ । प्राविधिक कारणले केही समयदेखि स्थगित गरिएको सेवा अब नयाँ प्रणालीमार्फत पुनः सञ्चालनमा ल्याउन ल्याइएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी सूचनामा वैशाख २ गते बिहान ११:०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिने जनाइएको छ।
छात्रछात्राले student.tuexam.edu.np मा लगइन गरी अनलाइन फाराम भर्नुपर्नेछ। तोकिएको निर्देशन अनुसार फाराम भरेर संलग्न बैंकहरूमार्फत अनलाइन भुक्तानी गरी आवेदन सबमिट गर्न सकिनेछ।
फाराम भर्दा रजिष्ट्रेशन कार्डमा उल्लेख विवरण र मार्कसिटको विवरणमा एकरूपता हुनुपर्नेछ। यदि विवरणमा कुनै फरक भएमा ‘correction option’ प्रयोग गरी सच्याउन सकिनेछ। पहेँलो सक्कल मार्कसिट प्रयोगकर्ताले अझै प्रयोग गरिरहेका छन् भने त्यसमा त्रुटि भएमा Application ID को स्लिप र सक्कल मार्कसिट परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा बुझाउनु पर्नेछ।
अन्य सेवाहरु पनि क्रमशः अनलाइनमा
परीक्षा नियन्त्रण कार्यालयले २०८२ जेठ १५ गतेदेखि सम्पूर्ण सेवा अनलाइनमार्फत प्रदान गर्ने योजना पनि बनाएको छ। यस अन्तर्गत बल्खुस्थित कार्यालयमै जानुपर्ने अवस्थालाई अन्त्य गर्दै छात्रछात्राले सबै सेवा घरबाटै पाउन सक्नेछन्।
परीक्षा नियन्त्रक जोशीले त्रिभुवन विश्वविद्यालयले निर्माण गरेको आफ्नै नयाँ पद्धतिमार्फत अनलाइन सेवा सुरु गर्न लागेको जनाउँदै सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना पनि व्यक्त गरेका छन्। साथै, विस्तृत जानकारीका लागि Student Portal Manual हेर्न अनुरोध गरिएको छ।