काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडान भरिएको सीता एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
विमानस्थल स्रोतका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका लागि अवतरण गराइएको हो। उक्त घटनाका कारण त्रिभुवन विमानस्थलमा केही समयका लागि उडान तथा अवतरण प्रक्रिया रोकिएको थियो।
हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा केहीबेर रोकिएको र त्यसपछि सुरक्षितरूपमा हटाएर विमानस्थल सञ्चालन पुनः सुरु गरिएको बताइएको छ।
हाल जहाजको प्राविधिक परीक्षण तथा निरीक्षण भइरहेको जानकारी प्राप्त भएको छ। यात्रुहरूको अवस्था र घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।