काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने स्पष्ट पारेका छन्।
बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उत्तर दिँदै मन्त्री गुरुङले मुलुकको समग्र आर्थिक सुधारका लागि सक्षम व्यक्तिको आवश्यकता रहेको बताए। त्यसैले गभर्नर नियुक्तिमा केही ढिलाइ भएको उनले उल्लेख गरे।
‘देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने आवश्यकता छ। यस्तो अवस्थामा गभर्नर नियुक्तिको विषयमा राजनीतिक दलहरूको चासो हुनु स्वाभाविक हो,’ उनले भने, ‘हिजो मात्र प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे सहमति भएको छ। अब संयन्त्रको बैठक बस्नेछ र सो बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हामीलाई विश्वास छ।’
मन्त्री गुरुङले गभर्नर नियुक्तिसम्बन्धी समस्या छिट्टै समाधान हुने पनि आश्वस्त पारे।
‘अब धेरै समय लाग्दैन, गभर्नर नियुक्ति चाँडै हुन्छ,’ उनले स्पष्ट पारे।

