CLI

बीमा प्राधिकरणको हस्तक्षेपले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद ल्याउने योजना तत्काल तुहियो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैशाख ५ गतेका लागि तय गरेको विशेष साधारण सभा नेपाल बीमा प्राधिकरणको निर्देशनपछि स्थगित गरिएको छ। कम्पनीको चैत १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको थियो।

हालै मात्र सार्वजनिक निष्कासन (आईपीओ) गरेको दुई महिना नपुग्दै कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको थियो। तर बीमा प्राधिकरणले वैशाख २ गते कम्पनीलाई पत्राचार गर्दै सभा स्थगन गर्न निर्देशन दिएको हो।

कम्पनीले माघ महिनामा चुक्ता पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। दोस्रो बजारमा कारोबार सुरु भएपछि शेयर मूल्य तीव्र रूपमा वृद्धि हुन थालेको थियो। हकप्रद शेयर निष्कासनको घोषणापछि उक्त मूल्य झनै बढ्दै, एक बखत प्रति कित्ता २ हजार ७७८ रुपैयाँ सम्म पुगेको थियो।

यद्यपि, लघु बीमा कारोबार हालसम्म ठोस रूपमा विस्तार गर्न नसकेको कम्पनीले व्यावसायिक रूपमा खासै उपलब्धि हासिल गर्न सकेको छैन। प्रत्यक्ष आम्दानी तथा लाभांश दिनसक्ने स्थिति नरहे पनि, कम्पनीको शेयर मूल्य बजारमा लगातार सकारात्मक सर्किट लागेर बढ्दै गएको थियो।

बीमा प्राधिकरणको हस्तक्षेपपछि बजारमा यस्ता कृत्रिम मूल्य वृद्धिका विषयमा नियामक चासो देखिएको स्पष्ट भएको छ।

Leave Your Comment

Related News