झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गएको आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । चालु आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।
गत आर्र्थिक वर्षको भन्दा राजस्व सङ्कलन बढेको भए पनि यो आर्थिक वर्षको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले नौ महिनामा आयकरबाट एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए ।

