CLI

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले बोर्डको अध्यक्ष पदको लागि सिफारिस गर्नुपर्ने भएकोलेयोग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेश गर्न भनेको हो ।

बोर्डको अध्यक्ष बन्न आवश्यक योग्यताहरु दरखास्त पेश गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको,  आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको,  प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।

उपर्युक्त योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजातहरू संलग्न गरी मन्त्रालय समक्ष दरखास्त पेश गर्नुपर्नेछ ।

दरखास्त पेस गर्दा नियुक्ति हुन चाहेको व्यहोरा खुल्ने दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण,  शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत ), अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि (सेवा अवधि खुल्ने गरी), नेपाली वा अङ्ग्रेजी भाषामा एफोर साइज कागजमा तयार गरिएको कम्तीमा ३,००० र बढीमा ४,००० शब्दको सिलबन्दी व्यावसायिक कार्य योजना (कम्प्युटर टाइप गरिएको, पहिलो पानाको सबैभन्दा माथि आफ्नो नाम लेखिएको, अन्य पृष्ठको पश्च भागमा हस्ताक्षर गरिएको र अन्य कहीँ पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको) र व्यावसायिक कार्य योजना प्रस्तुतीकरणको सिलबन्दी खामसहित आवेदन दिनुपर्नेछ ।

यस्तै आवेदन दिँदा हालसालै खिचेको दुई प्रति फोटो, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको स्वः घोषणा, पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सो को प्रतिलिपि पेस गर्नुपर्नेछ ।

शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रको हकमा आफैँले प्रमाणित गरेको हुनुपर्नेछ । दरखास्त पेश गर्ने अन्तिम म्यादः यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (सो दिनमा सार्वजनिक बिदा परेमा भोलिपल्ट)भित्र कार्यालय समयभित्र बुझाउन सकिनेछ ।

Leave Your Comment

Related News