ईभी जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति ल्याउन नाडाको बीमा प्राधिकरणसँग माग

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल गरेको छ।

भेटवार्ता प्राधिकरण अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो। उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हालसम्म बीमा नीति तयार नभएको उल्लेख गर्दै स्पष्ट, पारदर्शी तथा सुसंगत नीति निर्माणको आवश्यकता औँल्याए। उनले विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुन सक्ने जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति बनाउनु पर्ने धारणा राखे।

प्राधिकरणका तर्फबाट अध्यक्ष ओझाले विद्युतीय सवारी साधनसम्बन्धी नीति निर्माण प्रक्रियामा आवश्यक विषयहरू समेटिने जानकारी गराए। प्रस्तावित नीतिमा स्पेयर पार्ट्स, सवारी प्रणाली, निर्माण सामग्री र मूल्य सम्बन्धी विवरणहरू समावेश गरिने, क्लेम प्रक्रियालाई सुधार गर्दै बीमा सेवा थप सुलभ र पारदर्शी बनाइने प्राधिकरणको लक्ष्य रहेको प्रष्ट पारियो। साथै, यस नीति निर्माण प्रक्रियामा नाडालाई पनि प्रत्यक्ष सहभागी गराइने जानकारी दिइएको थियो।

छलफलका क्रममा अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखी, विशेषतः दक्षिण एसियाली राष्ट्रहरूमा अवलम्बन गरिएका नीति र अभ्यासहरूको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै, नाडाले सम्बन्धित जानकारी संकलन गरी प्राधिकरणलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उक्त छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, बीमा लेख महाशाखाका प्रमुख निर्मल अधिकारी तथा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालको उपस्थिति रहेको थियो।

विद्युतीय सवारी साधनहरूको बीमा सम्बन्धी स्पष्ट र प्रभावकारी नीति निर्माणले यस क्षेत्रमा पारदर्शिता, उपभोक्ता सुरक्षाको सुनिश्चितता तथा दीर्घकालीन स्थायीत्वमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार