काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमाससम्मका लागि बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकहरुको खुद नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकहरुको नाफा ५६ करोड ८० लाख ५७ हजार रुपैयाँले बढेको छ ।
समीक्षा अवधिमा सञ्चालनमा रहेका २० बैंकमध्ये ११ वटाले खुद नाफा बढाएका छन् भने ९ वटाको भने खुद नाफा घटेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल बैंकले नाफा कमाएको छ । नेपाल बैंकले चालु आवको चैतसम्म २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा नेपाल बैंकको नाफा २०३२.८० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख ९ हजार रुपैयाँ मात्र थियो ।
यस अवधिमा सबैभन्दा कम वृद्धिदर लक्ष्मी सनराइज बैंकले हासिल गरेको छ । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २.२४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा एनआईसी एशिया बैंकको घटेको छ । एनआईसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एनआईसी एशिया बैंकले ९१.८१ प्रतिशतले नाफा गुमाएको छ । गत आवको सोही अवधिमा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ थियो ।
वाणिज्य बैंकहरुको खुद नाफा यस्तो छः


