काठमाडौं । साताको दोस्रो दिन शेयर बजार एकल अंकले घटेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार एकल अंकले घटेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.७६ अंकले घटेर ४५५.८१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३९ अंकले घटेको हो ।
सोमबार ३१९ वटा कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख २० हजार पुगेको छ । जुन आइतबारको तुलनामा करोबार रकम ३४ करोड २१ लाख ३१ हजारले बढी हो ।
आइतबार ३२८ वटा कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबाररकम ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार पुगेको थियो ।
यसैबीच सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ८६ अर्ब ६५ करोड पुगेको छ । यसदिन ११२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्य घटेको १ वटा कम्पनीको स्थिर रहेको छ ।
यस दिन ६ वटा उपसमूह बढ्दा ७ वटा घटेको छ । विकास बैंक २५, होटल र पर्यटन ४, जलविद्युत २७, लगानी ०.२०, उत्पादन र प्रशोधन २ र म्युअुचल फण्ड ०.०८ अंकले बढ्दा बैंकिङ १२, वित्त २६, जीवन बीमा २२, लघुवित्त ६, निर्जीवन बीमा २०, व्यापार ७० र र अन्य समूह २४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, युर्निभसल पावर कम्पनी, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रह्यो । ङादी ग्रुपको ५३ करोड ९९ लाख, युर्निभसल पावर कम्पनीको ५२ करोड ४७ लाख, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनीको ४३ करोड ४५ लाख, हिमालयन पावर पार्टनरको ३५ करोड ५५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ३१ करोड ५४ लाख कारोबार रकम रह्यो ।

