काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । मन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी छन्। उनको राजीनामा शिक्षकहरूको आन्दोलन र प्रधानमन्त्रीसँगको असहमतिको पृष्ठभूमिमा आएको हो।
देशभरका सार्वजनिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै चैत २० गतेदेखि आन्दोलनरत छन्। शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भए पनि सहमति जुट्न नसकेको अवस्थामा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।
मन्त्री भट्टराईको सचिवालयले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको जानकारी दिएको छ । तर, प्रधानमन्त्री ओलीसँगको असहमति पनि राजीनामाको कारणमध्ये एक भएको बताइएको छ। भट्टराईले प्रधानमन्त्रीले निजी विद्यालयमा लगानी बढाउने र सरकारी लगानी सुरक्षित गर्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन्। उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले २०७९ असार ३१ मा शिक्षामन्त्रीको पद सम्हालेकी थिइन्। यसअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सदस्यको रूपमा सक्रिय थिइन् । मन्त्री भट्टराईको राजीनामा मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ र सम्भवतः आजकै बैठकबाट स्वीकृत हुनेछ । मन्त्रीको राजीनामा पछि शिक्षकहरूको आन्दोलनको समाधान सरकारले कसरी खोज्नेछ भन्ने विषय अझ पेचिलो बनेको छ ।

