काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफरिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा गत चैत ११ गते ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ अर्थविद् डा. विश्व पौडेल सदस्य रहेका थिए । गठन भएको एक महिना भइसकेपनि हालसम्म एकपटक पनि समितिको बैठक बस्न सकेको छैन । नियमअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते नै सकिएको हो । तर राजनीतिक खिचातानीले गर्दा हालसम्म पनि नयाँ गभर्नर नियुक्तिको विषय अन्योलग्रस्त देखिएको छ । भट्टराईको राजीनामा पछि गभर्नर नियुक्ति प्रक्रियामा थप विलम्ब हुन सक्ने सम्भावना बढेर गएको छ ।

