काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरुको माग संविधान, कानून र देशको बजेटले धान्न सक्ने सीमाभित्र रहेर सम्बोधन गरिने स्पष्ट पारेका छन्।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पन्तले सरकार वार्ता र संवादमार्फत समस्याको समाधान गर्न इच्छुक रहेको बताए। ‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट हाल देखिएका समस्याहरु समाधान गर्न प्रतिवद्ध छ,’ उनले भने, ‘शिक्षक साथीहरुलाई म आग्रह गर्न चाहन्छु— लचिलो भएर वार्तामा सहभागी हुनुहोस्।’
मन्त्री पन्तले संविधान, ऐन, कानून र बजेटको दायराभित्र रही समाधान खोजिने उल्लेख गर्दै शिक्षक आन्दोलनलाई संवादमार्फत टुंग्याउन सरकार तयार रहेको बताए। ‘सरकारको तर्फबाट वार्ताका लागि मैले आह्वान गरिसकेको छु,’ उनले थपे।
सरकार र शिक्षकबीच जारी असमझदारी समाधान गर्न संयमित र सहमतिको बाटो अपनाउनुपर्नेमा मन्त्री पन्तले जोड दिएका छन्।

