काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा यस साता कुल १३ कराेड ९९ लाख ४६ हजार ४७१ दशमलव ९३ कित्ता इकाई धिताेपत्र नेप्सेमा सूचीकृत भएकाे छ ।
सूचीकृत भएको शेयर जसमा २ कम्पनीको ४ लाख ६२ हजार ४७१ दशमलव ९३ कित्ता बोनस शेयर छ । यस्तै ३० लाख कित्ता इकाई ऋणापत्र र १३ कराेड ६४ लाख ८४ हजार इकाई सामुहिक लगानी काेषकाे इकाइ रहेका छन् ।
नेप्सेमा सूचीकृत बोनस शेयरमा मिथिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको चुक्ता पुँजीकाे १४.२५ प्रतिशत बोनस बापतको २ लाख ७९ हजार ३०३ दशमलव ९३ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सले शेयरधनीहरुलाई प्रदान गरेको चुक्ता पुँजीकाे १.८६५९ प्रतिशत बोनस बापतको १ लाख ८३ हजार १ सय ६८ कित्ता शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यस साता नै एभरेष्ट बैंकले निष्कासन गरेको ऋणपत्र पनि सूचीकृत भएको छ । बैंकले जारी गरेको प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता इकाई ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र बिक्री गरेको हो । दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याजदर पाउनेछन् ।
यसैगरी यसै साताको आइतबार एनएमबि हाइब्रिड फन्ड एल-२ को १३ करोड ६४ लाख ८४ हजार इकाई धितोपत्र सूचीकृत भएको छ । एनएमबि क्यापिटल लिमिटेड मार्फत प्रतिइकाई दश रुपैयाँ अंकित दरका सामुहिक लगानी कोषको इकाई बिक्री गरेको थियो ।

