काठमाडौं । पोखरा क्षेत्रिय विमानस्थल निर्माणको क्रममा प्राविधिक, आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको पाइएको छ ।
संसदीय समितिले विमानस्थल निर्माणको क्रममा प्राविधिक, आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको ठहर गरे सँगै विमानस्थल निर्माणको क्रममा संलग्न रहेका सदस्यहरु उपर छानबिन गर्नु पर्ने माग गरेको छ ।
विमानस्थल निर्माणको क्रममा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सरकारलाई बुझाएको प्रतिवेदनमा दोषी देखिएमा हदै सम्मको कारबाही गर्न सुझाव दिएको छ ।
विमानस्थल निर्माणको क्रममा भएको अनियमितता विषयमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न र अनियमितता वा भ्रष्टाचार गर्ने दोषीउपर कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने छ, समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ ।
विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको ठहर गरेको समितिले विमानस्थल निर्माणको क्रममा संलग्न रहेका पदाधिकारीहरूको नामावली समेत सार्वजनिक गरेको छ । विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न प्राधिकरणका जिम्मेवारी प्राप्त सम्पूर्ण निर्णयकर्ता पदाधिकारीहरू, कर्मचारीहरूको सूची :-
महानिर्देशक प्रदिप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखका रुपमा २०७१ देखि २०७४ सम्म कार्यरत थिए । २०७८ माघ १७ देखि हालसम्म महानिर्देशक छन् ।
विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी (२०७४ देखि हालसम्म)
राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ,
इन्जिनियर प्रविन न्यौपाने
प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल,
नागरिक उड्डयन प्राधिकरणका निर्देशक इ. बाबुराम पौडेल,
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम (२०७२ देखि ७६ सम्म)
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेल (२०७६ देखि ७८ सम्म) कार्यरत
विमानस्थल निर्माणको क्रममा संलग्न बहालवाला पदाधिकारीहरूलाई तत्काल निलम्बन गरी अनियमितता र भ्रष्टाचारमा संलग्न वहालवाला वा पूर्वपदाधिकारी सबैमाथि शीघ्र छानबिन, अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न/गराउन अख्तियार तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन सिफारिस गरेको छ ।

