काठमाडौं । आर्थिक शिथिलतासँगै नेपालमा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम अडिट प्रतिवेदन २०८१ मा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको हो ।
जिफन्टको प्रतिवेदन अनुसार २०८० मा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमति रोजगारीमा रहेका श्रमिक संख्या ५९.७२ प्रतिशत थियो । २०८१ मा यस्तो संख्या घटेर ५३.७२ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा नियमति रोजगारीमा रहेका श्रमिक संख्या १०.६६ प्रतिशतले घटेको हो ।
श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन गर्न जिफन्टले उत्पादनमूलक उद्योग/प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ, ट्राभल्स, प्रिटिङ प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी सहित ३२७ वटा श्रम अडित प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्यययन विश्लेष गरी प्रतिवेदन तयार गरेको जानकारी दिएको छ ।
यसै गरी कार्यगत रोजगारीमा गत वर्ष ६.१९ प्रतिशत श्रमिक कार्यरत रहेको देखिएको थियो । यो वर्ष केही घटेको अवस्था छ । जस अनुसार श्रम अडिट गरिएका उद्योग / प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५.५१ प्रतिशत रहेका छन् । त्यस्तै समयगत रोजगारीमा कार्यरत श्रमिक संख्या गत वर्ष ५.५२ प्रतिशत रहेको थियो । यो वर्ष समयगत रोजगारीमा कार्यरत श्रमिक संख्या ८.५८ प्रतिशत रहेको छ ।
आंशिक समय रोजगारीमा गत वर्ष १.७३ प्रतिशत श्रमिक कार्यरत रहेका थिए । यो वर्ष आंशिक समय रोजगारीमा कार्यरत श्रमिक संख्या १.४८ प्रतिशत रहेको छ। यसैगरी आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष ३.९७ प्रतिशत रहेका थिए। यो वर्ष ४.६६ प्रतिशत रहेका छन् ।
यसैगरी गत वर्ष श्रमिक आपुर्तिकर्ता (आउटसोर्स) कम्पनी मार्फत काम गर्ने श्रमिक ९.९३ प्रतिशत थियो । तर यो वर्ष श्रम अडिट गरिएका उद्योग / प्रतिष्ठानमा आउटसोर्स कम्पनीबाट काम गर्ने श्रमिक १४.९१ प्रतिशत छ ।
रोजगार सम्झौता गरेर वा नियूक्ति पत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग/ प्रतिष्ठान संख्या गत वर्ष ६५ प्रतिशत रहेको थियो भने यो वर्ष ६०.१ प्रतिशत रहेको छ ।
यो वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग/ प्रतिष्ठान करिब ५ प्रतिशतले घटेको छ। यसले श्रम निरीक्षण अनुगमन गर्ने निकाय श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि हुन्छ ।
२०८० सालमा श्रम अडिट गरिएका उद्योग / प्रतिष्ठानमा १.६६ प्रतिशत तालिमि श्रमिक र १.५६ प्रतिशत प्रशिक्षार्थी श्रमिकलाई काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका उद्योग / प्रतिष्ठानमा १.१० तालिम र प्रशिक्षार्थी श्रमिक काममा लगाउने उद्योग / प्रतिष्ठान ०.८० प्रतिशत रहेको छ । तालिमि श्रमिकको वाहुल्य रहेको बैंक श्रम अडिटमा समावेश नै नगरिएको र होटल, अस्पताल क्षेत्रबाट उत्पादनमूलक उद्योग/ प्रतिष्ठानको तुलनामा न्यून संख्यामा श्रम अडिट प्रतिवेदन प्राप्त भएकोले संख्या घटेको देखिएको हो । यसैगरी गत वर्ष प्रशिक्षार्थी र तालिम श्रमिकलाई काममा लगाउने ८०.९ प्रतिशत उद्योग / प्रतिष्ठानले श्रम ऐनको दफा १६ र १७ पालना नगरेको अवस्था थियो भने यो वर्ष ८८.७ प्रतिशतले पालना गरेका छैनन् ।
श्रम ऐन २०७४ को दफा १८ अनुसार एकवर्ष भन्दा बढी तालिम अवधी नहुने साथै तालिमिलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा र सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनु पर्ने व्यवस्था विपरित गत वर्ष ७९.६ प्रतिशत उद्योग / प्रतिष्ठानले काममा लगाएका थिए। यो वर्ष श्रम अडिट गरिएका उद्योग प्रतिष्ठान मध्ये ९१.६ प्रतिशत उद्योग / प्रतिष्ठानले यो व्यवस्थाको पालना गरेका छैनन् ।
यसै गरी विदेशी श्रमिकलाई काममा लगाउने प्रतिष्ठानले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट स्वीकृति लिएर मात्र काम लगाउन सकिने व्यवस्था छ । तर भारतीयमूलका श्रमिक काममा लगाउने उद्योग/प्रतिष्ठानले भने श्रमिकको अभिलेखिकरण गर्नु पर्ने कानुनी व्यवस्था छ । २०८० सालमा गरिएको श्रम अडिटबाट २५.५ प्रतिशत उद्योग / प्रतिष्ठानले विदेशी श्रमिक काममा लगाएको अवस्था थियो । यो वर्ष श्रम अडिट गरिएको उद्योग / प्रतिष्ठानमध्ये ११.८ प्रतिशत उद्योग / प्रतिष्ठानले विदेशी श्रमिकलाई काममा लगाएको अवस्था छ ।

