काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले मासिक ६५४ रुपैयाँमा डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ ।
यस नयाँ योजना सार्वजनिक गर्नु अघि कम्पनीले ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै आएको थियो । कम्पनीले बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखेर डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको जानकारी दिएको छ । यस प्याकेज घरपरिवार र साना व्यवसायहरुका लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीको दाबी छ ।
नयाँ १०० एमबीपीएस योजना अन्तर्गत उपभोक्ताले १५ हजार ७०७ रुपैयाँमा दुई वर्ष र ९ हजार ४६९ रुपैयाँमा एक वर्षको प्याकेज खरिद गर्न सक्छन् । दुई वर्षको प्याकेज खरिद गर्दा उपभोक्तालाई प्रति महिना ६५४ रुपैयाँ शुल्क पर्न आउँछ । यो शुल्कमा भ्याट समेत समावेश गरिएकाले अतिरिक्त कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
हालसम्म ७० हजार भन्दा बढी उपभोक्ताले वाईफाई नेपालको सेवा उपयोग गरिरहेको जानकारी दिँदै सीईओ शत्रुहन पञ्जियारले भने, ‘वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरुलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने हो । आज हामी १०० एमबीपीएस सेवा सार्वजनिक गर्न सफल भएका छौं । हामी हाम्रो समाजको बढ्दो डिजिटल आवश्यकता बुझ्दछौं र सबैले वहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँच पूरा गर्न पाएकोमा गर्व महसुस गछौं।’

