काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्ष (आव)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले नाफा घटेको बताएको हो ।
चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९ लाख २१ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा २३.५६ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा ५१ लाख ३० हजार रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा घट्दा नाफामा असर परेको देखिन्छ । कम्पनीको खुद ब्याज आम्दानी २ करोड घटेर १ करोड ७७ लाखमा झरेको छ भने सञ्चालन नाफा १ करोड बढीले ऋणात्मक रहेको छ।
चुक्ता पूँजी २ करोड २८ लाख रहेको संस्थाको जगेडा कोषमा ३ करोड ४० लाख रहेको छ। कम्पनीले २८ करोड ३० लाख सापटी लिएर ४७ करोड ७१ लाख कर्जा प्रवाह र १५ करोड निक्षेप संकलन गरेको छ।
चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको निष्क्रिय कर्जा ४.८२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ । संस्थाको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ २४९ रुपैयाँ १८ पैसा र तरलता अनुपात ३.०५ गुण रहेको छ ।

