काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचमा सहमति भएको छ । महासंघले उठाएका मागमा ९ बुदे सहमति भएपश्चात महासंघले आन्लोलन स्थगित गरेर नियमित काममा फर्किने सरकारले गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्षले जनाएका छन् । यो सँगैनेपाल शिक्षक महासंघले जारी सडक प्रदर्शन अन्त्य गर्ने भएको छ ।
असार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयक पारित गर्न संसदीय समिति, मुख्य दलका मुख्य सचेतकहरु सहित भएको छलफलमा सहमती भएसँगै प्रदर्शन अन्त्य गर्न महासंघ सहमत भएको हो ।
विधेयक जारी गराउने एक मात्र लक्ष्य लिएर शुरु गरेको सडक प्रदर्शनले ऐन जारी गर्ने मिति नै तोक्नु सफलता भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दावी गरे ।
सहमती पछि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विगत देखिका सहमतीलाई ध्यानमा राखि सहमती गरेको बताए ।
वृत्ति विकास र सेवा सुविधाको माग मन्त्रीपरिषद्बाट निर्णय भएको बताउँदै तोकिएको समयमा ऐन जारी नभएमा अहिले भन्दा कडा आन्दोलनमा जान वाध्य हुने उनले बताए ।
सडक आन्दोलन रोकिएपनि पक्षीकरण जारी रहने उनले बताए ।
शिक्षक संग भएको सहमतीसँगै आठ अर्व दायित्व थप हुने बताउँदै शिक्षा मन्त्री रघुजी पन्तले अब निर्वाध शैक्षिक गतिविधि सञ्चालन हुने बताए ।

