काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनालाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहीबार निरीक्षणका क्रममा उनले रुग्ण आयोजनाको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृतिको अन्त्य हुनुपर्ने भन्दै उनले निर्धारित समयमा पूरा नभएका आयोजनाका बारेमा मन्त्रालयले समिति नै बनाएर अध्ययन गरेको बताए । साथै, उनले निर्माण व्यवसायीलाई सक्नेजति मात्र आयोजनाहरू जिम्मा लिन आग्रह गरे । यस्तै, आयोजनाको नियमित र प्रभावकारी नियमन गर्न उनले कर्मचारीलाई निर्देशन पनि दिए । मन्त्री दाहालले ती पुलसहित झापामा जारी विभिन्न आयोजनाको निरीक्षण एवं अनुगमन गरेका थिए । झापा र मोरङ जोड्ने रतुवा खोलाको पुल हालै निर्माण पूरा भएको छ भने कन्काई खोलामा निर्माणाधीन पुल केही समय निर्माण अवरुद्ध भई पुनः निर्माण सुरु भएको छ । सो पुलमा हाल स्ल्याब ढलान गरिएको छ । उक्त ढलानमा केही समयपछि भारबहन क्षमता जाँच गरिने जनाइएको छ ।
यसैगरी मन्त्री देवेन्द्र दाहालले बिहीबार नै झापाको मेचीनगर क्षेत्रमा सडकको पनि निरीक्षण गरेका थिए । सो क्रममा उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धि गर्न सक्नुपर्ने बताए । ‘राज्यले वर्षेनि विकासका लागि अर्बौंको लगानी गर्ने गरेको छ’, उनले भने, ‘तर त्यो गरिएको लगानीअनुसारको प्रतिफल प्राप्त भई रहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ ।’ सडक सञ्जालको पहुँचले यातायातको सुविधा मात्र पुग्ने नभई ग्रामीण उपजहरू सहजै बजारसम्म पुग्ने र स्थानीयबासिन्दाको जीवनस्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे ।
सरकारले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादनलाई बजारसम्म ल्याउन सघाउ पुराउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनालाई प्राथमिकता दिने उनले बताए । साथै, उनले लामो समयसम्म अलपत्र भएका तथा रुग्ण भएकाले हुन लागेका योजनाहरूको पहिचान गरी समस्या समाधानतर्फ जोड दिँदै आएको उल्लेख गरे । मन्त्री दाहालले धेरै आयोजनाहरू थप्नुभन्दा थालिएका र अलपत्र भएका योजनाहरू पूरा गर्न जरुरी भएको बताए । यसैगरी उनले सुके निन्दा खोलामा निर्माण अबरुद्ध भएको पुलको निर्माण प्रक्रिया अघि बढाउन सडक डिभिजन कार्यालय दमकका प्रमुखलाई निर्देशन समेत दिएका थिए ।

