काठमाडौं । यस साता नेप्से परिसुचक घटे पनि कारोबार रकम भने बढेको छ । यस साता नेप्से परिसुचक १.२९ प्रतिशतले घटेको छ । गत साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से, यस साता ३४.१९ अंकले घटेर २६२३.८३ विन्दुमा बन्द भएको छ ।
यस बजार चार कारोबार दिनका लागि खुलेको थियो । चार मध्ये तीन दिन बजार घट्दा एक दिन भने बढेको थियो ।
गत साताको तुलनामा यस साता नेप्सेका चारै सुचकहरु घटेका छन् । सेन्सेटिभ इन्डेक्स ५.२६, फ्लोट इन्डेक्स २.२३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२७ अंकले घटेको छ ।
समीक्षा अवधिमा नेप्से परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ८ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा यस साता दैनिक खरिद बिक्री ९ अर्ब १८ करोड रुपैयाँ छ ।
नेप्से परिसुचक घटेसँगै बजार पूँजीकरण पनि घटेको छ । गत साता ४४ खर्ब १९ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण यस साता आईपुग्दा ४३ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बजार पूँजीकरण ५६ अर्बले घटेको हो ।
यस साता १३ उपसमूहमध्ये १० उपसमूह घट्दा तीन उपसमूह बढेको छ । यस साता व्यापार, जलविद्यूत र म्युचुअल फण्ड उपसमूह बढेको छ । बाँकी उपसमूह घटेका छन् ।
यस साता सबैभन्दा धेरै शेयर मूल्य नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको बढेको छ । दुवै कम्पनीको शेयर मूल्य यस साताभर सकारात्मक सर्किट लाग्दै ४६.३८ प्रतिशतले बढेको छ ।
यो साता श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य १०.०४ प्रतिशतले घटेको छ ।

