काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी सार्वजनिक लेखा समितिको छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लेखा समितिमाथि गम्भीर आरोप लगाएका छन्। समितिको चालू कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद सिंहले लेखा समिति स्वयं भ्रष्टाचारलाई संस्थागत गर्ने निकायजस्तो बन्दै गएको आरोप लगाए।
सांसद सिंहले डेडिकेटेड र टंकलाइनजस्ता महत्त्वपूर्ण विषयमा समितिमा गन्तव्यहीन छलफल भएको भन्दै प्रश्न गरे, ‘कहाँ पुग्यौं, थाहा भएन।’ उनले थपे, ‘सिमेन्ट र डण्डीको मूल्य घटाउने भनियो, त्यसमा पनि केही गर्न सकिएन। एनसेलको रिपोर्ट माग्ने भनियो, सरकारबाट आएन, समितिले केही गरेन।’
उनले लेखा समितिलाई सरकारको छाया नभएर त्यसको काउन्टरपार्ट (विपक्षी संयन्त्र) हुनुपर्ने बताउँदै भने, ‘आज लेखा समिति सरकारको छायाँ बनेको छ। संसारका जुनसुकै सरकारले टेजरी (राजकोष) नियन्त्रण गर्छ, त्यसले दुरुपयोग गर्छ। त्यो अडिट गर्ने ठाउँ लेखा समिति हो, तर अहिले समिति स्वयं भष्ट्राचार सहजीकरणमा लागेको छ।’
प्रधानमन्त्री र मुख्य सचिवलाई लेखा समितिमा एक पटक पनि उपस्थित नगराएकोमा गम्भीर आपत्ति जनाउँदै सिंहले भने, ‘राज्य व्यवस्था समितिमा प्रधानमन्त्री चार पटक पुग्नुभएको छ, तर लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा माथि मानेको देखिन्छ। दुई वर्ष भयो, समितिमा प्रधानमन्त्री र मुख्य सचिव किन नबोलाइयो?’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको जनधारणा रहेको उल्लेख गर्दै सिंहले भने, “तीन करोड नेपाली र बच्चा–बच्चीलाई सोध्दा पनि उनीहरू भन्छन् – पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको छ।”
अध्ययन समितिमा आफू नरहे पनि सिंहले पोखरा एयरपोर्टसम्बन्धी प्रतिवेदन जनताको पक्षमा लिक भएको पनि दाबी गरे।
‘भष्ट्राचार नियन्त्रणका लागि लेखा समितिले के गर्यो भन्ने देखाउनसक्नुपर्छ,’ भन्दै सिंहले समिति स्वयं उत्तरदायी बन्नुपर्ने चुनौती पनि दिए।

