बाल मन्दिर प्रकरणमा ६० करोड बढीको मुद्दा, ७ वर्ष कैद माग

काठमाडौं । उपप्रधान तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यसहित १७ जना जोडिएको मुद्दामा ६० करोड बढी बिगो मागदाबी सहित मुद्दा दर्ता भएको छ ।

बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्मको तथा ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो । यस्तै कार्यालयले बिगो बराबर क्षतिपूर्तिको मागसमेत गरेको छ ।

बाल मन्दिरको जग्गा लिज प्रकरणमा सिंहसहित तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, रुषाेत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ ।

उक्त प्रकरणमा चिरञ्जीवी तिवारी, मनोहरगोपाल श्रेष्ठ र सुमन श्रेष्ठ पनि मुछिएकोमा उनीहरुको निधन भैसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय कार्यालयले गरेको हो ।

बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा बृहस्पति विद्या सदनलाई कौडीको भाउमा लिजमा दिएर हानी नोक्सानी गरेको आरोपमा मोहनप्रसाद भट्टराईले जाहेरी दिएका थिए । २०५९ सालमा २०८९ सालसम्मका लागि जग्गा भाडामा दिने सम्झौता भए पनि म्याद सकिनुभन्दा १७ वर्षअघि २०८९ सालबाट २०७२ सालमा थप ४३ वर्ष गरेर विस‌ं २१३१ सम्मका लागि सो जग्गाको लिज अवधि थपिएको थियो ।

उक्त प्रकरणमा २०८१ वैशाख २७ गते २० जनाविरुद्ध पक्राउ पुर्जी जारी पनि भएकोमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरी सीआईबीले बयान लिइ हाजिरी जमानीमा छाडेको थियो । २०८१ माघमा सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएकोमा जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा चलाउनुनपर्ने सिफारिस गरेको थियो ।

फाइल अध्ययनपछि महान्यायाधिवक्ताको कार्यालयले  हालै मुद्दा चलाउने निर्णयसहित जिल्ला सरकारी वकिलको कार्यालयलाई मुद्दा चलाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार