CLI

सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

काठमाडौं । नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस् सामानहरु उत्पादन गर्ने कम्पनी सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनाका साथ थप पूँजी जुटाउन आफ्नो कार्य अगाडी बढाएको छ ।

२०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नगरपालिका वडा नम्बर ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी चालु आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भई सकेको छ । हाल १० करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीले उत्पादन क्षमता वृद्धि संगसंगै जारी पूँजी समेत वृद्धि गरी २७ करोड रुपैयाँ पुर्याई जारी पूँजीको ३० प्रतिशत अर्थात ८ करोड १० लाख रुपैयाँ बराबरको शेयरको आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना राखेको छ ।

उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वर्ष भित्रमा नयाँ व्यक्ति तथा संस्थागत लगानी मार्फत ८ करोड ९० लाख रुपैयाँ थप पूँजी जुटाई संस्थापक समूहको शेयर स्वामित्व १८ करोड ९० लाख पुर्याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्स प्रालिसंग लगानी गर्ने, लगानीकालागि सहजीकरण गरिदिने तथा सावर्जनिक निष्काशनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यकालागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।

उक्त समझदारीपत्रमा सुमेरु पोलिमर्सको तर्फबाट प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका तर्फबाट प्रवन्ध सञ्चालक कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्। सफल उद्यमी एवं व्यवसायीक घरानासंग आवद्ध प्रवन्ध सञ्चालक दिवश घिमिरे कम्पनी स्थापनाको समयदेखि नै प्रमुख प्रवर्द्धक एवं व्यवस्थापकको रुपमा रही कार्य गर्दै आएका छन् भने भेञ्चर्सका प्रवन्ध सञ्चालक कमल प्रसाद नेपाल विगतमा १४ वर्ष बैंकिङ्ग क्षेत्रमा कार्यरत रही पछिल्लो समय १४ वर्ष भन्दा बढी एनएमबि क्यापिटल लिमिटेडमा चिफ म्यानेजर पददेखि महाप्रवन्धक पदसम्म कार्यरत रहेका थिए। २८ वर्षभन्दा बढी समय बैंकिङ्ग तथा क्यापिटल मार्केटमा कार्य गरेका नेपालसंग धितोपत्रको सार्वजनिक निष्काशनसंग सम्बन्धित कार्यको लामो अनुभव रहेको छ ।

पछिल्लो ३ वर्षदेखि लगातार वार्षिक २१ करोड रुपैयाँको कारोबार गर्दै आईरहेको यस कम्पनीले थप पूँजी जुटाए पश्चात् उत्पादन वृद्धि तथा बजार क्षेत्रको विस्तार गरी आगामी आर्थिक वर्षमा वार्षिक कारोबार ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । हाल कम्पनीको बजार क्षेत्र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदुर पश्चित प्रदेश रहेकोमा आगामी वर्षहरुमा ७ वटै प्रदेशमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने योजना राखेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी ८.२४ रुपैयाँ रहेको छ । प्रचलित कम्पनी कानून तथा धितोपत्र सम्बन्धी कानूनमा तोकिएको व्यवस्था बमोजिम यस कम्पनी योग्य भएमा प्रिमियम मूल्यमा समेत सर्वसाधारणमा शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News