काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले सूचना जारी गरेर कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।
राष्ट्र बैंकले २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख २८ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा १६ करोड रुपैयाँ निक्षेपमा राख्नेछ भने राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड रुपैयाँ निक्षेपमा राख्नेछ। बैंक तथा वित्तीय संस्थाले सोही अनुसार आवेदन दिन सक्नेछन् ।
प्रस्ताव पेश गर्नका लागि केन्द्रीय बैंकले तोकेका सर्तहरु भने पुरा गरेको हुनुपर्नेछ ।


