काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार भोली पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखले अनुरोध गरेको छ ।

