काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन गभर्नर विवादका कारण धर्मराएको छ । नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव गरेकोमा एमालेले त्यसमा सहमति जनाएको थियो ।
तर भट्टको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि गभर्नर नियुक्तिको विवादले नयाँ मोड लिएको छ । यसैबिच अर्थविद् विश्व पौडेल गभर्नर बन्ने चर्चा चुलिएको छ । सभापति देउवा निकट एक नेताका अनुसार भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरका रुपमा अघि बढाउने तयारी गरेको छ ।
यही चर्चाका बिच पौडेल गभर्नर सिफारिस समितिमा रहेकोमा उक्त समितिबाट उनले राजीनामा दिएका छन् । उक्त समितिमा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र उनी रहेका थिए ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमति भैसकेको बताइएको छ ।

