काठमाडौं । नेपालमा विदेशी पर्यटकको संख्या बढ्दो छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार चालु आवको ९ महिनामा हवाइ मार्गमार्फत ९ लाख ७९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटकको संख्या बढेसँगै होटेलहरुको पर्यटकीय व्यावसायीक गतिविधि तथा क्रियाकलापहरुमा सापेक्षिक रुपमा अभिवृद्धि भएको छ ।
आन्तरिकसहित विदेशी पर्यटकको आकर्षण रहने काठमाडौँको पाँच तारे सोल्टी होटलले यस अवधिमा ५९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको सोही समीक्षा अवधिमा ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक समीक्षा अवधिको अन्त्यसम्मका लेखापरीक्षण नभएका अपरिष्कृत आर्थिक (वित्तीय) विवरणहरु अनुसार अघिल्लो आर्थिक वर्ष २०८० / ८१ को सोही अवधिसँग तुलनात्मक रुपले विश्लेषण गर्दा कम्पनीको कुल आम्दानी आर्जनमा लगभग १२.५० प्रतिशतको अभिवृद्धि भएको छ । कम्पनीको समग्र व्यवसायिक प्रदर्शनमा उल्लेख्य अभिबुद्धि देखिएको छ र व्यावसायीक कार्यसम्पादनमा सन्तोषजनक प्रगति भएको छ ।

