CLI

हरेक नोटमा दलको चुनाव चिन्ह राख्नुस् : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले  सरकारले राष्ट्र बैंकलाई दलीयकरण गर्ने प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले गठबन्धन सरकारलाई चेतावनी दिँदै हरेक नोटमा दलको आफ्ना पार्टीको चुनाव चिन्ह राख्न चेतावनी दिएका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘जे गर्नुहुन्छ ३१ महिना भित्र गर्नु, सकेसम्म दुईवटा गभर्नर बनाउनुस् । एउटा नोटमा सिग्नेचर गर्ने र अर्को बिचौलियाको सिग्नेचर गर्ने। अनि छापिएको नोटमा आफ्ना दलका चुनाव चिन्ह पनि राख्नुस्।’

प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राष्ट्र बैंकजस्तो गरिमामय संस्थामा दलहरूले खुला हस्तक्षेप गरिरहेको आरोप लगाए। गभर्नर नियुक्तिको विषयमा भइरहेको राजनीतिक हस्तक्षेपलाई उनले ‘लज्जास्पद अभ्यास र ऐतिहासिक भूल’ भनेका छन्। उनका अनुसार यसरी गरिएको नियुक्तिले बाँकी रहेको थोरै राष्ट्र गरिमा पनि समाप्त हुने खतरा देखिएको छ।

‘हामी सबैलाई थाहा छ, राज्यका संरचना कसरी दलीयकरणको चक्रव्यूमा फसेका छन्’ उनले भने, ‘आम नागरिक चकित हुने गरी संरचनाहरू दलीय स्वार्थका लागि प्रयोग भइरहेका छन्।’

उनले विगतमा पनि राष्ट्र बैंकमा दलीय हस्तक्षेपको प्रभाव देखिएको स्मरण गराउँदै भने, ‘विगतमा पनि दलको बाछिटाले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच द्वन्द्व सतहमै ल्याएको थियो। बजेट नीति कार्यान्वयन गर्न, मौद्रिक नीति लागू गर्न दलीय प्रभावले गम्भीर असर पार्‍यो।’

हाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन अयोग्य हुने स्पष्ट उल्लेख छ। ‘हाक्काहाक्की चुनाव लडेको मान्छेलाई गभर्नर बनाउने तयारी भइरहेको छ’ उनले भने ।

उनले  राष्ट्र बैंक जस्तो संस्थाको नेतृत्वमा विषयगत कार्य अनुभव नभएका व्यक्तिहरूलाई नियुक्त गर्न खोजिएको प्रति पनि आपत्ति जनाए।

Leave Your Comment

Related News