झापा । प्रहरीले भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औंजार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए ।
उनका अनुसार प्रहरी टोलीले काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई राजमार्गबाटै नियन्त्रणमा लिएको थियो । ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी श्रेष्ठले बरामद अवैध सामान र कन्टेनरलाई सोमबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जानकारी दिए । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि पछिल्ला दिन निगरानी बढाएको छ ।


