काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समयदेखि निरन्तर रुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएकोे कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकाहरू लाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिना सम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले एकल महिला र बालबालिकाको अधिकारकोे हेरचाहको लागि समाजमा उदाहरण प्रस्तुत गरेको बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ”बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुबिधा समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

