काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आइतबार (जेठ ११ गते) देखि अवितरित साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो।
यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता र लकइन अवधिमा नपरेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर रहेको छ। संस्थापक र सर्वसाधारण समूह शेयरको लकइन अवधि असार ७ गते सकिदैछ ।
लगानीकर्ताले लिलामीमा भाग लिन कम्तीमा १०० रुपैयाँलाई आधार मूल्य मानी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने प्रबन्धपत्रमा उल्लेख छ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बोलपत्र आवेदन फारम सानिमा क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयबाट साथै सानिमा बैंकका विभिन्न शाखाहरू तथा गरिमा विकास बैंक लिमिटेड को बागलुङ शाखाबाट प्राप्त गर्न र बुझाउन सकिनेछ।
कम्पनीले माघ १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका शेयरधनीहरुका लागि १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । चैत १९ गतेदेखि १४ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद शेयर मात्र बाँडफाँट भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख ८ सय कायम हुनेछ ।

