ट्रेजरी बिलबाट १७ अर्ब ऋण उठाउँदै सरकार, बैंकहरुले प्रतिस्पर्धा गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्बको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् ।

कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । ५ अर्बको नयाँ र १२ अर्बको नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसर ३६४ दिनको लागि १७ अर्ब बराबरको ट्रेजरी बिलको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी वर्ष २०८३ जेठ १२ गते परिपक्व हुनेछ । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

यसअघि जेठ ५ गते २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलको खरिदका लागि २८ अर्ब ८६ करोड ५० लाख बराबरको बोल परेको थियो । जसको औषत छुटदर २.९४ प्रतिशत रहेको थियो । १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि २७ अर्ब १९ करोड बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.९७ प्रतिशत रहेको थियो । र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको टे«जरी बिलको खरीदको लागि २३ अर्ब ८५ करोड बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.९९ प्रतिशत रहेको थियो ।

ट्रेजरी बिलको छुटदर ३ प्रतिशत भन्दा पनि तल रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार